लहान नगरपालिकाद्वारा किसानलाई क्यूआरसहितको परिचयपत्र वितरण
सिराहा । सिरहाको लहान नगरपालिकाले किसानलाई लक्षित गरी आफ्नो परिचय खुल्ने परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले वडा नं १२ बाट वितरण सुरु गरेको हो ।
सरकारले किसानलाई प्रदान गर्ने हरेक सुविधा प्रभावकारीरूपमा वितरण गर्न सहज हुने उद्देश्यले किसान परिचयपत्र वितरण गरिएको नगरप्रमुख महेश चौधरीले बताए । “अब किसानलाई मलखाद वितरण, बीउबिजन, अनुदानमा पारदर्शिता, ऋण लिनलगायत अन्य कार्य गर्नलाई थप सहज हुने विश्वास लिएको छु”, चैधरीले भने, “किसान परिचयपत्रले वास्तविक किसानको पहिचान गरी राहत दिन प्रभावकारी हुनेछ । यसबाट किसानलाई व्यावसायिक बन्न थप मद्दत पुग्नेछ ।”
त्यसैगरी वडाध्यक्ष बद्रीनारायण चौधरीले किसानको हक–अधिकारलाई किसान परिचयपत्रले सुनिश्चित गर्ने बताए । किसान परिचयपत्र क्रमशः सबै वडामा वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिए ।
परिचयपत्रमा सम्पूर्ण किसानको व्यक्तिगत विवरण राखिएको छ । जसमा क्यूआर कोड पनि छ । अनलाइनमा नाम हाल्नेबित्तिकै किसानको सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।