मारूती सिमेन्ट उद्योगकाे ‘फिता’ले हात काटिँदा इन्जिनियरको मृत्यु



सिराहा । उद्योगमै काम गर्दै गरेका बखत क्लिंकर सार्ने फिताले हात काटिएर इन्जिनियरको मृत्यु भएको छ ।

मारुती सिमेन्ट उद्योगमा कार्यरत भारतको मध्यप्रदेश सतना निवासी मेकानिकल इन्जिनियर अनुराग तिवारीको बुधबार क्लिंकर माथि सार्ने फिताले हात काटेर अत्याधिक रक्तश्राव हुँदा बिहीबार मृत्यु भएको हो ।

सिरहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा रहेको सिमेन्ट उद्योगमा क्लिंकर माथि सार्ने बेल्टमा हात च्यापिएर चुँडिएपछि उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको हो ।

मृत्यु भएका तिवारीको शव मृतकका परिवारले बुझिसकेका छन् । जिल्ला सदरमुकाम सिरहास्थित प्रादेशिक अस्पतालमा शवको पोष्टमार्टम गरी बिहीबार साँझ करिब ६ बजेतिर परिवारको जिम्मा लगाइएको हो । उद्योगस्थित अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष ओपिन्द्रकुमार महतोका अनुसार उद्योगले मृतक परिवारलाई शव घर पुर्याएर दाहसंस्कार र काज किरियाका लागि तत्काल एक लाख पच्चीस हजार रुपैयाँ उपलब्ध गराएको छ।

एक महिना अघिदेखि उद्योगमा कार्यरत मेकानिकल इञ्जिनियर तिवारी बुधबार अपराह्न ४ बजेतिर क्लिंकर बोकेर बेगर (भकारी) सम्म पुर्याउने बेल्टको नटबोल्ट चेकजाँच गर्ने क्रममा चिप्लिएर दाहिने हात बेल्टले च्यापेपछि हात चुँडिएको थियो। ‘एक्लै भएकाले बेल्ट माथि सर्नबाट रोक्ने स्वीच दबाउने पनि कोही भएनछन्’ महतोले भने ‘हात नै चुँडिएर अत्यधिक रक्तश्राव भएपछि तत्काल उद्धार गरी कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरे।’

उद्योगमा कार्यरत मजदुरहरुको सुरक्षा प्रबन्धमा उद्योग प्रशासनले हेलचेक्र्याइँ गर्दा मजदुरहरुको दुर्घटनामा मृत्यु भएको निवर्तमान वडाध्यक्ष रामपुकार कामतीले जनाए । पछिल्लो दुई वर्षको अवधिमा मात्र तीन नेपाली र तीन भारतीय गरी ६ जना मजदुरको मृत्यु भएको जनाइएको छ ।