निरु पाण्डे हत्या प्रकरणः अनुसन्धानमा खटिएका ३ डिएसपीसहित १८ प्रहरी पुरस्कृत



काठमाडौं । राजधानीमा दिनदहाडै पसलमै बसिरहेकी निरा पाण्डे आचार्यको हत्या प्रकरणमा उत्कृष्ट अनुसन्धान गर्ने १८ प्रहरी सम्मानित भएका छन् ।

वैशाख ७ मा कपनस्थित पसलमा बसिरहेकी पाण्डेको हत्याको आरोपी विनोद विक झापाबाट पक्राउ परेसँगै नेपाल प्रहरीले अनुसन्धानमा संलग्न ३ प्रहरी नायब उपरीक्षक (डिएसपी), १ प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १८ जनालाई रेकर्डमा रहने गरी पुरस्कृत गर्ने निर्णय गरेको छ ।

पुरस्कृत हुनेमा डिएसपी अनिल घिमिरे, किरण न्यौपाने र सत्यनारायण थापा रहेका छन् । त्यस्तै इन्स्पेक्टर निर्मल थापालाई पनि पुरस्कृत गरिने भएको छ ।

निरुको हत्यामा अहिलेसम्मको अनुसन्धानमा विकले लुटपाटको उद्देश्यले गरेको खुले पनि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । प्रहरीले विकले लुटेको पाण्डेको सुनको सिक्री समेत बरामद गरिसकेको छ । विकले हत्या आरोप स्वीकार गरिसकेका छन् ।

घटनाको लामो समयसम्म पनि अपराधीसम्म प्रहरी नपुगेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको संयोजकत्वमा समिति गठन गरिएको थियो ।