लहानको विकासका लागि मारवाडी समाजको अतुलनीय भूमिकाः मेयर चौधरी



लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहान नगरपालिकाको विकासका लागि मारवाडी सेवा समाजको भूमिका अपरिहार्य रहेको बताएका छन् । मारवाडी सेवा समिति लहानको १२ औं साधारणसभा तथा अधिवेशनका अवसरमा मेयर चौधरीले उक्त कुरा बताएका हुन् ।

मेयर चौधरीले लहानको विकास र सौन्दर्यका लागि मारवाडी समाजले हरेक क्षेत्रमा सहयोग गरेकोमा त्यसको नगरपालिकाले उच्च मूल्यांकन गरेको समेत बताए ।

मेयर चौधरीले उक्त अवसरमा मारवाडी समाजले लहान नगरपालिकाभित्र पुर्याएको शिक्षा र स्वास्थ्य सेवाको मुक्तकण्ठले प्रशंसा गरे । मेयर चौधरीले रामकुमार मुरारका अस्पताल र जे.एस मुरारका बहुमुखी क्याम्पस सञ्चालनमा खेलेको भूमिका अतुलनीय रहेको बताउँदै लहान नगरबासीको शिक्षा र स्वास्थ्य सेवाका लागि मारवारी समाज ज्यादै अपरिहार्य रहेको पनि बताए ।

उक्त अवसरमा मेयर चौधरीले २०१५ सालको एसएलसीमा सहभागी भई प्रभुदयाल मुरारले नवौं स्थान ल्याएर लहानको नाम फैलाएकोमा समेत स्मरण गरे । त्यसका साथै लहानको सिंचाईका साथै हरेक कार्यका लागि समाजको भूमिकाको जति प्रसंसा गरे पनि कम हुने बताए ।

उक्त अवसरमा मेयर चौधरीले विभिन्न मारवारी समुदायका व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । उक्त अवसरमा समाजका साथै लहानका विकासका लागि सहयोग गर्ने साथै कार्यक्रममा सहभागी कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।