सुसेसको १० औं राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं । सुनुवार सेवा समाजको १० औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । राजधानीमा शनिबारदेखि सुरु भएको सम्मेलन समाजका अध्यक्ष रणवीर सुनुवारको अध्यक्षतामा सुरु भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलनमा देशैभरका प्रतिनिधिहरुको सहभागिता रहेको छ । उक्त अवसरमा मन्त्री किरातीले नेपाल बहुभाषित र बहुजातीय मुलुक रहेकोले हरेक समुदायको आ-आफ्नो संस्कृति रहेकोले आफ्नो संस्कृतिलाई सम्बर्द्धन गर्नु सबैको कर्तव्य रहेको समेत बताए । उक्त अवसरमा मन्त्री किरातीले सुनुवार समुदायको संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि समाजले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मेलनको पूर्णसफलताका लागि कामना समेत गरे ।
उक्त सम्मेलनमा कोशी प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवार, बागमती प्रदेशसभा सांसद उर्मिला सुनुवारका साथै विभिन्न जनजाती संघ संस्थाका प्रतिनिधिहरुले समाजको यस सम्मेलनका साथै आगामी दिनमा समाजले सुनुवार संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नेछ भन्दै पूर्ण विश्वास राख्दै लागि शुभकामना समेत दिएका थिए ।
उक्त अवसरमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन र मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सुनुवार जनप्रतिनिधिहरुलाई सम्मानित समेत गरिएको थियो ।
सम्मेलनले सुनुवार सेवा समाजको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ । त्यसका लागि आइतबार बन्द सत्रको कार्यतालिका रहेको जनाइएको छ ।
सम्मेलनमा साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै नीति तथा कार्यक्रम तय गरिने जनाइएको छ । सम्मेलनमा सुनुवारको हक, हित तथा भाषा, संस्कृति संरक्षणलगायतका विषयमा छलफल हुनेछ ।
सुनुवारको भाषा, संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४४ सालमा यो संस्था स्थापना भएको थियो । कोभिड–१९ र विभिन्न कारणले रोकिएको सम्मेलन सम्पन्न भएसँगै संस्थाले नयाँ कार्यसमिति पाउनेछ ।