सुसेसको १०औं सम्मेलन काठमाडौंमा



काठमाडौं । सुनुवार समुदायको साझा संस्था सुनुवार सेवा समाज (सुसेस) को १०औँ राष्ट्रिय सम्मेलन यहि फागुन २७ र २८ गते काठमाडौमा हुने भएको छ । छ वर्षपछि संस्थाको सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा देशैभरिका प्रतिनिधिको सहभागिता हुने सुसेसका सचिव उत्तमकुमार सुनुवारले जानकारी दिए । उनले सम्मेलनमा साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै नीति तथा कार्यक्रम तय गरिने बताए ।

सम्मेलनमा सुनुवारको हक, हित तथा भाषा, संस्कृति संरक्षणलगायतका विषयमा छलफल हुनेछ ।

समाजका अध्यक्ष सुनुवारले २०६८ को जनगणनाअनुसार नेपालमा ५५ हजार बढी सुनुवारको जनसङ्ख्या रहेको बताए । सुनुवारको भाषा, संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४४ सालमा यो संस्था स्थापना भएको थियो ।

कोभिड–१९ र विभिन्न कारणले रोकिएको सम्मेलन सम्पन्न भएसँगै संस्थाले नयाँ कार्यसमिति पाउनेछ ।