सशस्त्र आईजी अर्याल सुडान प्रस्थान

आईजी अर्यालको अनुपस्थितिमा एआईजी पौडेललाई संगठन नेतृत्वको कार्यभार



काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन्र

मेडल परेडका साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम रहेको छ। सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ।

मिसन थप गरी बढीभन्दा बढी तल्लो तहका कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालले जोड दिने भएका छन्।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलोपटक लाईवेरियामा खटिएको थियो। सो मिसन सन् २०१६ मा बन्द भएको हो। त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो। सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए।

सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन्। सन् २०१६ मा दक्षिण सुडानकै दोश्रो एफपीयु मिसनको रुपमा बोर र वाउमा १ सय ४० जनाको टोली तैनाथ रहेकोमा सन् २०२१ मा सो मिसनसमेत बन्द भएको एपीएफले जनाएको छ।

सोमबार सुडान गएका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, लगायत बलका वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नेछन्।