बालाजु घटनाः डीआईजी मसाउद खाँको नेतृत्वमा छानबिन समिति गठन



काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको घटना छानबिनका लागि समिति गठन गरेको छ ।

प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालसहित ५ जना छन्। समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

आन्दोलनकारी यातायात मजदुरले माछापोखरीमा प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका थिए। बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको हो।

यस्तै ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो।

डीएसपी विष्टले सो घटनामा उचित सुरक्षा व्यवस्थापन गर्न नसेको भन्दै उनलाई बालाजु वृतबाट हटाइएको छ। उनको स्थानमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ ।