

उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न तीनवटै जिल्लाका सिडियोहरुको बैठक आज

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
अपरान्हतिर संयुक्त बैठक बस्दैछ । त्यही बैठकले निर्णय गर्छ’, प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ ।स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ ।
गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ । पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।
अहिले काठमाडौ उपत्यकामा मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सी लगायतमा जोर–बिजोर लागु गरेर चल्न दिइएको छ तर सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ । यसैबीच राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ ।