प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं – नेपालमा केही दिनदेखिको लगातारको वर्षा आजदेखि घट्दो क्रममा रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । ‘भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँठाउँमा भइरहन्छ’, उनले भने, ‘तर मौसम सुध्रने क्रममा छ ।’
अहिले पनि काठमाडौंको केही भेगसहित उपत्यकाको पूर्व क्षेत्रमा वर्षा भइरहेको छ । यस्तै प्रदेश १ र वाग्मती प्रदेशका केही भूभागमा पनि पानी परिरहेको छ । काठमाडौं केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ । दिउँसो भने मौसम खुलेको थियो ।
पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम बदली भइरहेको हो । यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ । तर सामान्य असर बाँकी नै रहेको महाशाखाको भनाइ छ ।
आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए । पहाडी भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ ।
आजराति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ ।
मङ्गलबार भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।