एकै घरका दिदी-भाई पवित्रा र पवन सहपाठीसँग अब कहिल्यै नभेट्ने गरि विदा भए…
कावासोती । दशैं मान्नका लागि कावासोतीबाट गाउँ पुगेर फर्किँदै गरेका पवित्रा र पवनको यसपटकको दशैं अन्तिम दशैं बनेको छ । शनिबार कावासोतीको बालुवा डाँडामा भएको जिप दुर्घटनामा दिदी पवित्रा मश्रांगी र भाई पवन मश्रांगीले ज्यान गुमाएका हुन् ।
दशैं अगाडि फेरि भेट हुने बाचासहित गाउँ गएका पवित्रा र पवनले आफ्ना सहपाठीहरुसँग पुनः भेट्न पाएनन् । मध्यविन्दु बहुमुखी क्याम्पस स्नातक दोस्रो सेमेस्टरमा अध्ययनरत २१ वर्षीया दिदी पवित्रा र कावासोतीकै समता शिक्षा निकेतनको कक्षा ९ मा १८ वर्षीय भाई पवन दशैं बिदापछि कलेज र स्कुल हाजिर हुनका लागि घरबाट हिँडेका थिए । तर, विडम्बना दुवैजना कहिल्यै कलेज र स्कुल जान नपाउने गरि यस संसारबाट विदा भए ।
प्रारम्भिक अनुसन्धानका आधारमा तिव्र गति र क्षमताभन्दा बढी यात्री बोकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
बुलिङ्गटार गाउँपालिकाको वडा नं. २ को टाँडीबाट कावासोति हिंडेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिपमा ३४ जना यात्रु रहेकोमा यी दुई दिदी-भाईले ज्यान गुमाएका छन् भने अन्य ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । ७ सिट भएको बोलेरो जीपमा अत्याधिक यात्रुहरु रहेकोले दुर्घटना भएको हो । जीपमा अधिकांश गाउँबाट कावासोती आएर स्कुल कलेज पढ्दै गरेका किशोर किशोरी रहेको रहेको जनाइएको छ ।
घटनामा अन्य २ जना गम्भीर घाइते भएका छन् भने २७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेको जनाइएको छ ।