

बुलिङमा बालकले चलाएको ट्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु

नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका–५ मा १५ वर्षीय बालकले चलाएको ट्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार १५ वर्षीय बालक धनबहादुर डिस्वाले चलाएको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय बालिका गेरमाया सारूको मृत्यु भएको हो ।
उमेर नपुगेका बच्चाले गाडी चलाएर दुर्घटना भएपछि ट्याक्टरधनीले भने नक्कली चालक खडा गरेर जिल्ला प्रहरी कार्यालयमा जिम्मेवारी लिन पठाएको खुलेको छ । प्रहरी नायब उपरीक्षक पौडेलले भने, ‘घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेपछि ट्याक्टर चालक स्थानीय रिमेश गुरुङले लाइसेन्ससहितका चन्द्रबहादुर आलेलाई नक्कली चालक बनाएर प्रहरीसमक्ष उपस्थित गराएको बुझियो ।’
प्रहरीले चालक, ट्याक्टरधनी र नक्कली चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । १८ वर्ष उमेर नपुगेका बच्चाले लाइसेन्स लिन नपाउने भएकाले गाडी चलाउन पनि पाउँदैनन् । त्यस्तो अवस्थामा गाडीधनी नै प्रतिवादी हुने कानुनी व्यवस्था छ ।
त्यसैले आफू प्रतिवादी हुनबाट जोगिन ट्याक्टरधनी गुरुङले चलाखी गरेको प्रहरीको भनाइ छ । बालक धनबहादुरलाई भने पुर्पक्षमा पठाइने पौडेलले बताए ।