काठमाडौं आउँदै गरेको बस कारसँग ठोक्किएर त्रिशुलीमा खस्यो, २० बढी घाइते



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको वाग्मती प्रदेश ०२–०२९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एक प्रत्यक्षदर्शीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ यात्री सवार थिए । बसका सबै यात्रीको अवस्था सामान्य छ ।

बसका चालक र कारमा सवार २ जनाको अवस्था चिन्ताजनक रहेको पनि जनाइएको छ ।

गम्भीर घाइते भएका कारमा सवार सबै यात्रीलाई उपचारका निम्ति चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।