

किन गरे सशस्त्र हवल्दार बसन्तले आत्महत्या ?

दाङ — दाङको तुलसीपुर कारागारमा ड्युटीकै क्रममा आफैंलाई एसएलआरले हानी आत्महत्या गर्ने सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसी तुलसीपुर उपमहानगरपालिका वडा न. ८ टिकरीका रहेको जनाइएको छ ।
३५ वर्षीय केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । उनले आफैंले बोकेको एसएलआरले चिउँडोमा गोली हानेको देखिएको छ ।
उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए । उनले के कारणले आत्महत्या गरे त्यसको सत्यतथ्यका लागि अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए ।
प्रारम्भिक जानकारीअनुसार उनले पारिवारिक विवादका कारण आत्महत्या गरेको हुनसक्ने जनाइएको छ । त्यसको वास्तविकताका बारेमा प्रहरीले अनुसन्धान सुरू गरिसकेको पनि जनाइएको छ ।