५८ वर्षपछि दाजु-बहिनीको भेट, फेसबुकबाट भेटिएकी बहिनी भेट्न बर्माबाट आए डीपी शर्मा

नेपालगञ्ज । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएकी हुन्।

हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट बहिनी हिमालाई भेटे। त्यसपछि बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गरे। दाजु–बहिनीबीच ५८ वर्षसम्म सम्पर्क र भेटघाट थिएन।

बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाए।। त्यसपछि उहाँ बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आए।

‘यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ’, हिमाले भनिन्, ‘बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु।

दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ । बहिनी, परिवार र आफन्तसँग भेट हुने सबै आशा समाप्त भइसकेका वेला फेसबुकबाट पत्ता लाग्दा अति नै खुशी लागेको बताए।

२००५ सालमा बर्मामा जन्मिएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो। त्यसको एक वर्षपछि उनीहरू नेपाल आए। नेपाल आएपछि चार–पाँच वर्ष चिठीपत्र आदानप्रदान भए पनि पछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । घुम्न गएका उनका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा नै बसेका थिए।

दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी गरेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिए। -गोरखापत्र दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *