

बढीमा ७ दिनभित्र लाइसेन्स दिने व्यवस्था गर्छौंः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बढीमा सात दिनभित्र सवारी लाइसेन्स दिनेगरी तयारी भइरहेको बताएका छन्।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले घटीमा तीन दिन र बढीमा सात दिन भित्र लाइसेन्स उपलब्ध गराउने गरी तयारी गरिरहेको बताएका हुन्।
‘सवारी चालक अनुमतिपत्र बढीमा ७ दिन भित्र दिनेगरी कार्ययोजना कार्यान्वयनको चरणमा छौं’, मन्त्री श्रेष्ठले भने, तर यो कार्यान्वयनमा आउन कम्तीमा आठ महिना लाग्ने देखिन्छ।’
अहिले हरेक दिन ६ देखि ७ हजार लाइसेन्सको माग रहेको र सरकारसँग भएको प्रिन्टरले जम्मा ४ हजार लाइसेन्स मात्रै छपाइ गरिरहेको उनले बताए।
‘हरेक दिन २ हजारका दरले ब्याकलग छ। अहिलेसम्म ८ लाख लाइसेन्स ब्याकलगमा छ’, मन्त्री श्रेष्ठले भने, ‘अर्को मास प्रिन्टर खरिद गर्ने तयारीमा छौं। त्यसका लागि सूचना जारी भइसकेको छ, केही महिनामा आउँछ। ब्याकलगमा भएको सबै मास प्रिन्टरबाट छपाइ गरी सबै क्लियर गरेर हामी नियमितमा प्रवेश गर्छौं। त्यसका लागि कम्तिमा पनि ७–८ महिना लाग्छ भनेका हौं।’
अहिले यातायात क्षेत्र प्रदेश सरकारको पनि जिम्मेवारीमा रहेकाले संयोजनको काम गरिरहेको मन्त्री श्रेष्ठले बताए।