इन-हाउस मण्डिखाटार टेनिस क्लब डबल्स टुर्नामेन्ट सम्पन्न
ग्रुप ‘ए’मा समीर र भीष्म तथा ग्रुप ‘सी’मा ताशी र पासाङ बने विजेता
काठमाडौं – मण्डिखाटार टेनिस क्लबको आयोजनामा सम्पन्न ‘इन-हाउस मण्डिखाटार टेनिस क्लब डबल्स टुर्नामेन्ट’ को उपाधि ‘ग्रुप ए’ तर्फ समीर गुरुङ र भीष्म जङ्ग गुरुङको जोडीले जित्न सफल भएको छ।
रोमाञ्चक प्रतिस्पर्धाका बिच समीर र भीष्मको जोडीले प्रथम स्थान हासिल गर्दै उपाधि आफ्नो नाममा गराएको हो। उक्त प्रतिस्पर्धामा मनोज शम्शेर राणा र हेम चन्द्र गुरुङको जोडी उपविजेता बनेका छन्।
यसैगरी, टुर्नामेन्टको ‘ग्रुप सी’ तर्फ ताशी शेर्पा र पासाङ शेर्पाको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान (विजेता) हासिल गरेको छ। उक्त ग्रुपमा ए.बि. पुन र छिरिङ शेर्पाको जोडी द्वितीय (उपविजेता) बनेको छ।
प्रतियोगिता समापनपश्चात् आयोजित विशेष पुरस्कार वितरण समारोहमा क्लबका अध्यक्ष नवराज कुँवर तथा अन्य वरिष्ठ व्यक्तित्वहरूले विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रफी तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबै खेलाडी, आयोजक तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरे ।
क्लबभित्रका खेलाडीहरूबिच भ्रातृत्व, खेलभावना र शारीरिक सुगठनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो इन-हाउस टुर्नामेन्ट आयोजना गरिएको क्लबले जनाएको छ।

