विवाहको प्रस्ताव अस्वीकार गर्दा प्रेमीले गरे प्रेमीकासहित काकाको हत्या



रुपन्देही । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेको आवेगमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।

प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् ।

अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई शरीरका विभिन्न ठाउमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो ।

प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो। मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन् । चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ ।