राष्ट्रपति पौडेलको सादगीपन, कारगेडबिना कुमारी दर्शन र चियापान



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कारकेड बिना नै बसन्तपुरस्थित कुमारी घर पुगेर दर्शन गरेका छन् ।

शनिबार अपराह्न कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेर राष्ट्रपति पौडेलले त्यहाँ पुगेका हुन् ।

उनी कारकेड जाने बेलामा सडकमा सवारी साधन चलिरहेका थिए भने पैदलयात्रुहरुलाई पनि रोकिएको थिएन ।

राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । पौडेललाई कुमारी घरका अध्यक्ष गौतम रत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले स्वागत गरेका थिए ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार उनी पनि दर्शन गएका हुन् ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन भने थिएन ।

तस्बिरः पहिलोपोष्ट