डीएसपी ठगबहादुर निलम्बित



काठमाडौं– इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन्।

३५ तोला सुन, नगद र चेक गरी २५ लाख रुपैयाँसहित पक्राउ परेका केसीलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। व्यवसायीको सुन नै कब्जा गरेपछि केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो।

त्यसपछि उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। हेडक्वार्टरको सिफारिस अनुसार गृहले केसीलाई निलम्बन गरेको हो।

सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो। उक्त टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो।

व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर उनी आफैंले राखेको पाइएको छ। केसीको साथबाट प्रहरीले ३५ तोला सुन र २५ लाख रुपैयाँ बरामद गरेको थियो। २५ लाख रुपैयाँ बुझाउँदा पनि सुन फिर्ता नपाएपछि व्यायारीले प्रहरीलाई खबर गरेका थिए।